-1750559504.jpg)
काठमाडौं । आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनए ‘ए’ ले क्यान्भास बसन्त ऋतुलई १२–१० ले पराजित गर्यो । सोही स्पर्धामा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टीबीसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एलएनए ‘ए’ को भेट लाखेसंग हुनेछ भने मनास्लुले यक्कुको सामना गर्ने छ ।
गर्ल्समा एनसीसीएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसीसीएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल एनसीसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच हुनेछ ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुईदिने प्रतियोगितामा ब्वाइजमा १२ तथा गर्ल्समा ८ टिम सहभागी छन् । दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न इच्छुकलाई छात्रवृत्ति पनि प्रदान गरिने छ ।