Aarthikaina
हिमालयन जाभा बास्केटबलको उपाधि टाइम्सलाई

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा  गोल्डेनगेटललाई ८०/७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।

सुरुबाटै टाईम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०/८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९/१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४/२७ को अग्रता बनाएको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

तेसो क्क्वाटर २६/२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०/४८ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४/२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।

यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो । च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पार्‍यो । यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त गर्‍यो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका थिए । तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०/७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२/१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२/१९ र तेस्रो क्वाटर २२/२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१/५७ ले अघि थियो । चौथो क्वाटर १९/१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३/२१ ले हरायो । नेपाल बास्केटबल संघको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए । पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो । पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update